७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही चैत २५ देखि वैशाख १८ गतेसम्म उक्त खोप लगाइने जानकारी दिनुभयो ।

उहाँले एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने बताउनुभयो । गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको छ । नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य सङ्गठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिने छ ।

शाखा प्रमुख दाहालले विगत पाँच वर्षको तथ्याङ्क हेर्दा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको सङ्क्रमण देखिने गरेको बताउनुभयो । उहाँका अनुसार सन् २०१९ मा ८२ हजार ४४९ टाइफाइडका विरामी रहेको अनुमान गरिएको थियो । यसकोे सङ्क्रमण सबै उमेर समूहमा देखिएपनि १५ वर्षभन्दा मुनिका बालबालिकामा बढी हुने गरेको छ ।
टाइफाइड साल्मोनेला टाइफीबाट हुने कडा खालको रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखिने गर्दछ ।

मासुभित्र दिइने टाइफाइडको खोपले वयस्क र बालबालिकामा दीर्घकालिन रोग प्रतिरोधात्मक क्षमता राख्दछ । खोपको माध्यमबाट गरिने रोकथाम रोगसँग लड्नका लागि सबैभन्दा प्रभावकारी माध्यम हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरसफाइ र खोपको अभियानबाट टाइफाइडलाई रोकथाम गरिने बताउनुभयो । नेपालमा एक अध्ययनअनुसार प्रतिएक लाखमा एक हजार ६२ जनामा टाइफाइड भएको देखिएको छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक लालले खोप विभिन्न देशमा ‘क्लिनिकल ट्रायल’ पछि नेपालमा प्रयोग गर्न थालिएको, ८५ प्रतिशत प्रभावकारी रहेको र एक मात्रा लगाएपछि अर्को मात्रा लगाउन नपर्ने बताउनुभयो । नेपालमा बालबालिकालाई दिन थालिएको टाइफाइड कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको र विश्वको धेरै देशमा प्रयोग भइसकेको खोप हो । यो खोप सुुरक्षित र प्रभावकारी रहेको बताइएको छ । खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने, दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्नेजस्ता सामान्य असर देखिएपनि अन्य कुनै असर नपर्ने भएकाले ढुक्क भएर आफ्नो नजिकको खोप केन्द्रमा गई बालबालिकालाई खोप लगाउन विभागले अभिभावकसँग आग्रह गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.