पेट्रोलियम खपतमा मासिक ३५ प्रतिशतले कमी ल्याउन मन्त्रिपरिषदमा दुई दिन बिदा प्रस्ताव

काठमाडौं । पेट्रोलियम पदार्थको खपत कम गर्न हप्तामा दुई दिन बिदा दिन नेपाल राष्ट्र बैँक र नेपाल आयल निगमले गरेको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको खपत कम गर्न उक्त प्रस्ताव गरिएको हो । नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार दुई दिन सार्वजनिक बिदा दिँदा अत्यावश्यक बाहेकका सवारी साधनहरु नगुड्ने भएका कारण पेट्रोलियम पदार्थको खपतमा मासिक ३५ प्रतिशतले कमी आउनेछ । जसका कारण नेपाल आयल निगमले व्यहोरिरहेको घाटा पनि कम हुने उहाँको भनाइ छ ।

कार्कीले भन्नुभयो, ‘‘हाल अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्य बढेको छ, जसका कारण पेट्रोलियम पदार्थ खरिद गर्दा नै धेरै रकम बाहिर गइरहेको छ, हप्तामा दुई दिन बिदा दिने हो भने सवारी साधन कम गुड्ने भएका कारण खपत कम भई मुद्रा विदेशिनबाट रोकिन्छ र व्यापार घाटा पनि कम हुन्छ ।’’

तर, सरकारले सार्वजनिक बिदा दिँदा त्यसलाई सदुपयोग गर्नका लागि देशका विभिन्न भागको आवतजावत बढेमा पेट्रोलियम पदार्थको खपत घट्नुको साटो झनै बढ्ने उहाँको भनाइ छ । त्यसकारण सरकारले यसमा कडाइ गर्नुपर्ने कार्कीको सुझाव छ ।

कार्कीका अनुसार सरकारलाई दुई दिन सार्वजनिक बिदाको साथै इलेक्ट्रोनिक सवारीको प्रयोग बढाउनका लागि आग्रह गरिएको छ । साथै, इलेक्ट्रिक सवारीको आयातमा भन्सार शूल्क घटाउन पनि प्रस्ताव गरिएको उहाँको भनाइ छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र अनलाइनसँग कुरा गर्दै दुई दिन बिदा दिने कुरा चले पनि आधिकारिक निर्णय भने नभएको बताउनुभयो । यस विषयमा छलफल भइरहे पनि आधिकारिक निर्णय भने भइनसकेको उहाँको भनाइ छ । ‘हप्तामा दुई दिन बिदा दिने भन्ने कुरा छलफलको विषय बनेको छ तर मन्त्रिपरिषद्ले निर्णय भने गरेको छैन,’ मन्त्री कार्कीले भन्नुभयो ।

हाल नेपालमा पेट्रोलको खपत दैनिक २२ सय किलोलिटर छ । डिजेलको दैनिक खपत पाँच हजार किलोलिटर छ भने एलपी ग्याँसको खपत दैनिक १० हजार सिलिण्डर छ । हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदा दैनिक २३ रुपिँया जोगिन्छ भने डिजेलबापत दैनिक २८ रुपियाँ जोगिने नेपाल आयल निगमका सहप्रवक्ता कार्कीले बताउनुभयो । जसबाट व्यापार घाटा पनि कम हुने निगमको भनाइ छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.