भरतपुर आँखा अस्पतालद्वारा १८ जनाको ३५ वटा आँखाको नानी सङ्कलन

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी सङ्कलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी सङ्कलन गरिएको हो । अस्पतालले विसं २०७४ बाट आँखाको नानी सङ्कलन तथा प्रत्यारोपण सुरु गरेको हो ।

कार्यक्रम हेर्दै आउनुभएकी छायाँ श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उहाँका अनुसार आँखा दानका लागि ८४१ जनाले मरणोपरान्त आँखा दान गरेका छन् । विगतमा कोरोनाका कारण नानी सङ्कलन कार्य प्रभावित भएको भए पनि पछिल्लो दिनमा धेरै नानी सङ्कलन हुन थालेको उहाँको भनाइ छ । सङ्कलित नानी ४५ वर्षदेखि ९९ वर्ष उमेर समूहको रहेका छन् ।

अस्पतालमा कर्निया रोग विशेषज्ञ डा पुष्पा गिरीको नेतृत्वको टिमले आँखाको नानी प्रत्यारोपण गर्दै आएको छ । गिरीका अनुसार प्रत्यारोपण गरिएका बिरामीमध्ये आधा भारतीय हुन । सम्पर्कमा आएका सबैको प्रत्यारोपण गरिएको नानीले राम्रो काम गरेको छ । भारतीय बिरामी पुनः परीक्षणका लागि कम मात्रै आउने भएकाले सबैको अवस्था थाहा नभएको उहाँको भनाइ छ ।

गिरीका अनुसार मानिसको मृत्यु भएको आठ घण्टाभित्र आँखाको नानी सङ्कलन गर्न सकिन्छ । उहाँले भन्नुभयो “मृत्युभएपछि जति छिटो नानी सङ्कलन गर्न सकियो त्यति नै राम्रो हुन्छ ।” आँखा दान भनिए पनि आँखा पूरै ननिकालेर केवल आँखाको बाहिरी भागमा हुने पातलो नानी मात्रै निकाल्ने उहाँले बताउनुभयो ।

डा गिरीले भन्नुभयो, “अझै पनि मानिसलाई पूरै आँखा निकालिन्छ भन्ने भ्रम छ, त्यस्तो होइन, आँखाको पातलो झिल्ली (नानी) मात्रै निकाल्ने हो ।” नानी निकालेपछि पुनः कृत्रिम नानी राखेर पहिलेको जस्तै अवस्थामा राखिन्छ ।

यहाँ सङ्कलन गरिएको नानी नेपाल आँखा बैंक तिलगङ्गा काठमाडौँ पठाउने गरिएको छ । तिलगङ्गामा नानीलाई प्रशोधन गरेपछि मात्रै प्रत्यारोपण गर्न मिल्ने उहाँको भनाइ छ । आँखा दान गर्न चाहने व्यक्तिले जुनसुकै समयमा सम्पर्क गर्न सक्नेछन् । आँखा बैंक स्थापनाका लागि जिल्लाका समाजसेवी भीमराज पाठकले रु एक करोड ५० लाख उपलब्ध गराउनुभएको छ । सो रकमबाट आँखा बैंक स्थापना गर्ने तयारीमा अस्पताल लागेको छ ।-रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.