पोल्ट्री उद्योगलाई सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित ‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा उहाँले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तथ्याङ्कअनुसार सन् २०१९ मा ३२ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाले उमेर अनुसारको उचाइ प्राप्त गर्न सकेनन् । उमेरअनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्या हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ । पुड्कोपना र कुपोषणको समस्याबाट विशेषगरी गरिबीको रेखामुनि रहेका समुदाय बढी पीडित रहेको पाइन्छ ।”

पहिलो एक हजार दिनमा बालबालिकालाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गर्भवती र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रम सरकारले सञ्चालन गरिरहेको जानकारी दिनुुभयो । उहाँले पोल्ट्री उद्योगले अण्डा र मासुमार्फत प्रोटिनको आपूर्तिमा योगदान पु¥याएकामा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकामा पोल्ट्री उद्योगका उद्यमी र कृषकलाई धन्यवाद दिनुभयो ।

आत्मनिर्भरउन्मुख यस उद्योगले बर्ड फ्लूलगायत रोग, कच्चापदार्थको मूल्य, औषधिलगायत समस्या भोगिरहेका बारे सरकार जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यी समस्या समाधान गरी नेपालको अर्थतन्त्र र गरीबी निवारणमा महत्वपूर्ण योगदान पु¥याएको पोल्ट्री उद्योगलाई थप सबल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका सम्पूर्ण पशु चिकित्सकको छाता सङ्गठन नेपाल भेटेरिनरी एसोसिएसनले नेपाल दाना उद्योग सङ्घ र सम्बन्धित सरोकारवालाको सहभागितामा प्रोटिन माथिको अधिकारलाई स्थापित गर्ने उद्देश्यले हाफ म्याराथनलगायत दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकामा उहाँले बधाईज्ञापन गर्नुभयो ।-रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.