नेपाल मगर संघ चितवनले ४१औँ स्थापना दिवस मनाउँदै

चितवन, फागुन ९ । नेपाल मगर संघ चितवनले ४१औँ राष्ट्रिय मगर स्थापना दिवस मनाउने तयारी गरेको छ। संघले यही फागुन १५ गते नारायणी नदी किनारमा विशेष कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेको मंगलबार संघको कार्यालय नारायणगढमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। १५ गते दिउँसो औपचारिक कार्यक्रम हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट पुतली बजार चोक, लिला चोक हुँदै नारायणी नदी किनार प्रदर्शनी मैदानसम्म झाँकीसहितको र्‍यालीसमेत आयोजना गर्ने तयारी भइरहेको संघका चितवन जिल्ला अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए।

कार्यक्रम अवधिभर विभिन्न खालका सांस्कृतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिलाउने उनले बताए। दिनभर हुने कार्यक्रममा दुई वटा मौलिक कौराहासहित १८ वटा सांस्कृतिक प्रस्तुति रहने अध्यक्ष मगरले जानकारी दिए। साथै मगर संघलाई विशेष योगदान दिने व्यक्ति तथा मगर समुदायबाट विभिन्न ओहोदामा पुग्न सफल व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए। सामुदायिक विद्यालयबाट अध्ययन गरी विगतको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मगर विद्यार्थीलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ।

कार्यक्रममा चितवन जिल्लामा मगर संघअन्तर्गत सातवटा स्थानीय तह, ४८ वटा वडा समिति तथा आठ वटा भातृ संगठनको उपस्थिति रहनेछन्। करिब तीन हजार ५०० जनाभन्दा बढीको सहभागीतामा दिवस मनाउन लागेको नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य चन्द्रबहादुर रानामगरले जानकारी दिए। उक्त दिन देशभरका सबै जिल्लामा स्थापना दिवस मनाउने कार्यक्रम रहेको समेत उनले बताए।

मगर समुदायले २०१२ सालमा स्थापना भएको तत्कालीन अवस्थामा मगर समाज सुधार समितिको नामबाट देशभरका मगर जातिलाई एक ठाउँमा उभ्याउने प्रयास भएयता विभिन्न चरणमा संस्थाको नाम परिमार्जन हुँदै हाल नेपाल मगर संघ हुन आएको ऐतिहासिक दिन भएकोले २०३९ सालदेखि हरेक वर्ष फागुन १५ गते स्थापना दिवस मनाउन थालिएको उनले बताए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.