नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छ: प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन्।

नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल-चाइना विजनेस फोरम-२०२३ लाई सम्बोधन गर्दै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए।

प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाए। उनले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने स्पष्ट पारे। मुलुकभित्र पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीन सरकारले त्यसमा सहयोग गर्नेमा विश्वास व्यक्त गरे।

उनले विदेशी लगानीकर्तालाई सहज हुनेगरी थप वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। नेपाल र चीनबीच जनस्तरमा बलियो सम्बन्धको विकास हुँदै जानु सकारात्मक भएको प्रधानमन्त्रीको भनाइ छ। दुई मुलुकबीच व्यावसायिक सम्भावना खोज्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने प्रधानमन्त्रीको भनाइ छ। नेपालबाट निर्यात हुने तरकारी, चिया, मासु, आयुर्वेदिक औषधि जस्ता उत्पादनलाई सहजै चीनको बजारमा प्रवेशको सुविधा दिन प्रधानमन्त्री दाहालले आग्रह गरे। व्यापार घाटा कम गर्न पनि त्यस्तो व्यवस्था भएको खण्डमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

नेपाल एक चीन नीतिप्रति स्पष्ट रहेको र नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता उनले दोहोर्‍याए। चीनले कोरोना महामारीपछि आफ्ना नागरिकलाई पर्यटकका रुपमा देशबाहिर जाने अनुमति दिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाल पनि चिनियाँ पर्यटकलाई स्वागत गर्न आतुर छ।’ चिनियाँ पर्यटकका लागि नेपाललाई चीनले प्राथमिकतामा राखेकाले हाम्रो पर्यटन उद्योगमा राम्रो प्रभाव पर्ने उनको भनाइ छ।

‘हाम्रो कानुनले लगानीबाट कमाएको आम्दानीको पूर्ण फिर्तीलाई अनुमति दिएको छ। नेपालमा दर्ता भएका विदेशी कम्पनीले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्नेछन्। स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव गरिँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति छैन। नेपालमा व्यवसायलाई प्रतिस्पर्धी बनाउने अर्को महत्त्वपूर्ण कारण भनेकै कम खर्चिलो प्रणाली हो।’

उनले सरकारी प्रक्रियालाई थप सरल बनाउन गम्भीर रूपमा काम गरिरहेको बताए। प्रत्यक्ष वैदेशिक लगानीका लागि स्वचालित स्वीकृतिको लागि आवश्यक नियम पनि विकास भइरहेको उहाँले जानकारी दिए। नेपाल र चीनबीच आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले वर्षौँदेखि पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित बलियो सम्बन्ध रहेको तथ्य स्मरण गरे। पछिल्ला दिनमा भइरहेको उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट आपसी सम्बन्ध थप विस्तार भएको उनको भनाइ छ।

नेपाल-चीन व्यापार सम्बन्ध लामो समयदेखि रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमालयको दुवै छेउका व्यापारीको संलग्नताबाट सुरु भएको व्यापार र आदानप्रदान थप विस्तारित रूपमा अगाडि बढिरहेको स्पष्ट पारे। नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत तथा दोस्रो व्यापार साझेदारका रुपमा चीन रहेको तथ्य पेस गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रा छिमेकीले हासिल गरेको अभूतपूर्व आर्थिक प्रगतिले निर्यात व्यापारको विस्तार र आन्तरिक लगानीकोस्तरवृद्धि गरी विकास र समृद्धिको अवसरका फराकिलो मार्ग खोल्नेछ भन्ने हाम्रो विश्वास छ।’

वर्तमान सरकार लोकतन्त्रको आर्थिक लाभ जनतामा पुर्‍याउन दृढताका साथ प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ। उनले भने, ‘त्यसका लागि स्पष्ट दृष्टिकोण र रणनीति, दृढ प्रतिबद्धता र जनताको बलियो समर्थन छ। शान्ति, स्थायित्व र समृद्धिका लागि जनताको आकांक्षालाई यथार्थमा परिणत गर्नु हाम्रो उद्देश्य हो।’

नेपालमा लगानीका लागि जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्र रहेको जानकारी दिए। कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको जानकारी दिँदै प्रधानमन्त्रीले चुनौती अझै कायम रहेको बताए। आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार सम्पर्क सञ्जालको विस्तारका लागि नेपाल-चीन सीमानाका पूर्वाधारमा सुधार, सीमा नाकामा परीक्षणलगायतका पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने, थप बन्दरगाह निर्माणलाई तीव्रता दिएको प्रधानमन्त्रीको भनाइ छ। -रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.