क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा. न्यौपाने नियुक्त

चितवन, २१ चैत । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्षमा डा. विजयराज न्यौपाने नियुक्त हुनु भएको छ । अस्पतालका पूर्व डेपुटी डाईरेक्टर न्यौपाने हिजो सोमबारको मन्त्रीपरिषद्को निर्णयले अध्यक्षमा नियुक्त हुनु भएको हो ।

रत्ननगर नगरपालिका वडा नम्बर १२ जयमंगलामा विसं २०१७ साल पुस २३ गते जन्मिनुभएका न्यौपानेले पूर्वी चितवनको पञ्चकन्या माविमा कक्षा ७ सम्मको अध्ययन गर्नुभयो । कक्षा ८ देखि एसएलसीसम्मको शिक्षा नेपाल माविबाट पूरा गर्नुभयो । त्यहीबाट उहाँले विसं २०३३ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । जिल्लामा आठ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेकामध्ये डा. न्यौपाने एक हुनुहुन्थ्यो ।

त्यसपछि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजञ्ज क्याम्पसबाट वि. सं. २०३७ सालमा हेल्थ असिष्टेन्ट उत्तीर्ण गरी यसपछिको ६ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा सेवा गर्नुभयो । वि. सं. २०४३ सालमा तत्कालिन सोभियत संघको युक्रेनमा उहाँले त्यहाँको एमडी (यहाँको एमबिबिएस सरह) अध्ययनका लागि जानु भयो । विसं २०५० सालमा एमडी (यहाँको एमबिबिएस सरह) को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो । न्यौपानेले परिवार नियोजन संघमा ६ वर्ष सेवा गर्नुभयो ।

उहाँले विसं २०५६ सालमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरु गर्नुभयो । त्यस पछि वि.सं २०५७ सालमा बिपि कोईराला इन्चिच्यूट अफ हेल्थ साइन्स (विपिकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एण्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताउनुभयो । वि. सं. २०६० सालमा एमडी उत्तीर्ण गरी त्यसपछिको उहाँको जीवन वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमै बिरामीको सेवामा समर्पित भयो ।

नेपाल चिकित्सक संघका पूर्वकेन्द्रीय सदस्य, रेडक्रसका विशिष्ट सदस्य, सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका पूर्वकेन्द्रीय सदस्य, चितवनका संस्थापक अध्यक्ष, नेप्लिज एसोसिएसन अफ प्यालेटी केयरका निवर्तमान अध्यक्ष रहनुभएका उहाँले विभिन्न सामाजिक संघसंस्थामा सेवा पु¥याउँदै आउनुभएको छ ।

क्यान्सर अस्पतालमा बिभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभव पछि अवकाश पाउनुभएका न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एण्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गर्नुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.