स्वास्थ्य बिमाबाट पछिल्लो एक वर्षमा भरतपुर अस्पतालको आम्दानी ५२ करोड रुपैयाँ

चितवन : संघीय अस्पतालको रुपमा रहेको चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबाट गत एक वर्षमा ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए ।
अस्पतालले बिमा कार्यक्रमबाट गत आवमा ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्दा १२ करोड रुपैयाँ बढी भुक्तानी भएको हो । भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका सम्पर्क व्यक्ति लिलाधर पौडेलले दिएको जानकारीअनुसार गत आर्थिक वर्षको अझै १० करोड दाबी गरेर पठाइएको रकम आउन बाँकी रहेको छ । अघिल्लो आवमा अस्पतालले बिमा कार्यक्रममार्फत ३० करोड ७९ लाख रुपैयाँ भुक्तानी पाएको थियो ।

अस्पतालको तथ्याङ्कअनुसार आठ हजार तीन सय ९६ पटक अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीले सेवा लिएका छन् । यस्तै स्वास्थ्य बिमामार्फत अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामी आठ हजार रहेका छन् । राज्यको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा जति प्रत्यक्ष राहत दिने महत्वपूर्ण कार्यक्रम अन्य नदेखिएको उनले बताए ।

अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बिरामी स्वास्थ्य बिमाबाट सेवा लिने गरेका छन् । उनान्तीस प्रतिशतले मात्रै शःशुल्क सेवा लिने गरेको उनले जानकारी दिए। विसं २०७४ भदौ १ गतेदेखि अस्पतालमा सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म आठ लाख पटक सेवा दिइएको छ ।

सेवाग्राहीको आकांक्षा र सेवा प्रदायकको कार्यक्रम समन्वय नहुनु, औषधिको उपलब्धता र गुणस्तरमा समस्या देखिनु, दाबी भुक्तानीमा समस्या देखिनु, सेवाग्राहीले सेवा लिन आउँदा आफू अपमानित भएको महसुस गर्नुजस्ता कारणले सेवामा अझै चुनौती रहेको उनले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले सङ्घीय सरकारले दिने बजेटभन्दा बिमा कार्यक्रमबाट प्राप्त दाबी भुक्तानी रकम बढी भएको बताए। कार्यक्रमलाई अझै सेवाग्राहीको चाहनाअनुरुप गर्न नसकिएको भन्दै उनले बिरामीका लागि थप संरचना निर्माण गरेर सेवा दिइने बताए । यसका लागि आवश्यक जमिनसमेत अस्पतालसँग नभएको उनको भनाइ छ । पौडेलले आगामी दिनमा बिमा कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजान अस्पताल लागिपर्ने जिकिर गरे । अस्पतालमा एमआरआइसमेत ल्याइँदै छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा दिन सुरु गरिएसँगै रेफर भएर अन्यत्र निजी अस्पताल जानुपर्ने बिरामीको बाध्यता घटेर जाने उनको भनाइ छ ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिमा कार्यक्रम देशमै सबैभन्दा प्रभावकारी भरतपुर अस्पतालमा भएको जानकारी दिए । यससँगै देखिएका समस्याको खोजी गरी निराकरणका लागि पहिलोपटक आजदेखि सबै विभागका कर्मचारी समावेश हुने गरी तीन दिने योजना तर्जुमा गोष्ठी गर्न लागिएको उनले जानकार िदिए। उनले भने, ‘अस्पतालका राम्रा पक्षलाई अघि बढाउँदै लैजाने र समस्याको निराकरण गरेर सेवाग्राहीलाई सेवा दिने काममा हामी जुटेका छौँ ।” चितवनसहित छिमेकी जिल्लाबाट समेत बिरामीले स्वास्थ्य बिमामा प्रथम विन्दु भरतपुर अस्पताललाई बनाउने गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.