चितवनबाट शनिबारदेखि रास्वपाको ‘जनयात्रा’

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चैत २३ गते शनिबारदेखि चितवनबाट ‘जनयात्रा’ सुरु गर्ने भएको छ। पार्टीले यो अभियानलाई ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रूपमा अघि सारेको जनाएको छ। रास्वपाले ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरबाट सुरु गर्ने जनाएको छ। शनिबार दिउँसो २ बजेबाट सुरु हुने यात्राको सभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन्। लामिछाने ६ महिनापछि सोमबार पार्टी सभापतिको जिम्मेवारीमा फर्किएर सक्रिय भएका छन्। उनीमाथि सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा छ।

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले फेसबुकमार्फतयो अभियान भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्ने उद्देश्यले हुन लागेको बताएका छन्। उनले यसलाई सुधारको यात्रा भएको उल्लेख गर्दै नागरिकको ऐक्यबद्धता आवश्यक रहेको भनेका छन्। रास्वपाको केन्द्रीय समितिले गत चैत १८ गते ‘जनयात्रा’ लाई अनुमोदन गरेको थियो।

गत सोमबार वनस्थलीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले शनिबार चितवनमा आयोजित सभामा सरकार कसरी बन्यो र किन ढल्यो भन्ने रहस्य खुलासा गर्ने घोषणा गरेका थिए।

सभापति लामिछानेले चितवनका जनताले आफ्नो समर्थनमा दुई पटक अश्रुग्याँस र लाठी खाएको स्मरण गरेका थिए , र चितवनवासीको नाममा सम्बोधन गर्ने घोषणा गरेका थिए। उनले हिरासतको ८४ दिनको अनुभव र सरकारको नियतबारे खुलस्त पार्ने पनि दाबी गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.