कुलमानको चेतावनीसँगै पछि हटे स्थानीय, अघि बढ्यो त्रिशूली-३ बी काे काम

काठमाडौं, ३ जेठ । त्रिशूली-३ बी २२० केभी हब सबस्टेसन निर्माणमा भइरहेको अबरोध हटेको छ । स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि रहेको अबरोध हटेपछि शुक्रबारबाट निर्माण सुचारु भएको छ ।  नुवाकोटको किस्पाङ गाउँपालिका – ५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेका थिए । त्रिशूली नदी किनारमा बनिरहेको सबस्टेसनमा रसुवाको उत्तरगया—४ का केही स्थानीयले निर्माणमा अवरोध गरेका थिए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेका थिए ।  नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए । स्थानीयको जायज माग पूरा गर्न आयोजना संधै तयार रहेको उल्लेख गर्दै नियतबस काम रोक्नेलाई नछोड्ने चेतावनी दिए ।  उनले त्यहींबाट नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी सुरक्षा व्यवस्थाको प्रवन्ध गरिदिन अनुरोध गरेका थिए । स्थानीय प्रशासनले तत्कालै आयोजनास्थलमा जनपथ र सशष्त्र प्रहरीको टोली परिचालन गरिदिएको थियो । सुरक्षाको व्यवस्था भएपछि निर्माणमा खटिएको ठेकेदार कम्पनीले शुक्रबार विहानैबाट काम सुरु गरेको हो ।  ‘यो सबस्टेसन एक वर्ष भित्रमा बन्न सकेन भने रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२।५ मेगावाटको सान्जेन, १४।८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, यसबापत प्राधिकरणले करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ,’उनले भने । ‘यस्तो  महत्वको आयोजनाको काममा अवरोध गर्ने ?  निर्माणमा अवरोध गर्न मुख्य भूमिका खेल्ने उत्तरगया—४का शिवप्रसाद भट्टराई, जानुका थापामगर लगायतका विरुद्धमा आयोजनाले जिल्ला प्रशासन तथा प्रहरी कार्यालय नुवाकोट र रसुवामा किटानी जाहेरी दिएको छ ।  त्रिशूली नदी किनारमा सब स्टेशनको कमाण्ड घेर्न पर्खाल लगाउँदा विरोध भएको थियो । आयोजनाले बगरमा निर्माण गरिरहेको पर्खाल माथि सार्न माग गरेका थिए । स्थानीयले अवरोध गरेपछि आयोजनाले दुवैतर्फका वडाध्यक्षहरुसँग छलफल गरेको थियो । उनीहरुले आयोजनाले उपयुक्त स्थानमा नै सबस्टेसन निर्माण गरिरहेकाले अवरोध नगर्न स्थानीयलाई आग्रह गरेका थिए ।  आयोजनाले रसुवातर्फ रहको खेतीयोग्य जग्गा तथा बस्ती जोखिममा पर्न नदिने पर्खाल लगाइदिएको छ । भट्टराईको नेतृत्वमा नै पर्खाल लगाइएको थियो । अहिले उनले सबस्टेसन निर्माणमा पेटी ठेक्का हात पार्नका लागि केही स्थानीयलाई उचालेका हुन् । उनले आफ्नो स्वार्थ पूरा गर्न आयोजनाका कर्मचारीलाई फोन गरी धम्क्याउने गरेका छन् ।  त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सबस्टेसनको निर्माण गर्न लागिएको हो ।  आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहने छ । आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ । आयोजनाको निर्माण अगामी पुसभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.