कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, एक सय घाइते

कैलाली, जेठ २४ । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ। क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

कैलालीको गोदावरी नगरपालिका–८ मा हावाहुरीको समयमा टिपरसँग से२१प ५८२१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी टिकापुर नगरपालिका–२ स्थित पोल्टीफार्म भत्किँदा त्यसमा च्यापिएर ४७ वर्षीय लहानु डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

राससका अनुसार हावाहुरीको समयमा घरका जस्तापाता लागेर, रुख तथा बिजुलीका खम्बा लागेर कैलालीका विभिन्न ठाउँमा ७६ जना घाइते भएका उनले बताए।

घाइतेमध्ये गोदावरी नगरपालिकाका जनक मल्ल, गौतम मल्ल, धनगढीका सरिता जोशी र सिक्नटा चौधरी गम्भीर छन्। घाइते जनक र गौतमको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने जोशी र चौधरीलाई थप उपचारका लागि भारत सिफारिस गरिएको छ । अन्य ७२ जना घाइतेको सेती अञ्चल अस्पतालका साथै निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हावाहुरीका कारण भएको धनजनको क्षति विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ । बिजुली खम्बा भाँचिएको, ठाउँ ठाउँमा रुढ ढलेका कारण विद्युत् सेवा ठप्प छ भने कतिपय क्षेत्रका सडकमा आवागमन अबरुद्ध भएको छ ।

हावाहुरीमा फसेका र घाइतेको उद्धारमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालित भएको थियो ।

यसैगरी कञ्चनपुरको बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा गरी हावाहुरीका कारण २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये आठ जनाको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ । तीमध्ये एक सख्त घाइते छन् । अन्य १५ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्लाको दक्षिण क्षेत्र जोड्ने बेलौरी–कलुवापुर सडकका ठाउँठाउँमा रुख ढलेका कारण यातायात अवरुद्ध छ । त्यसैगरी डडेल्धुराको जोगबुडा जोड्ने दैजी–जोगबुढा सडक पनि अवरुद्ध छ । जस्तापाता, टायल र खरका छाना भएका घरका छाना उडाएका कारण ठूलो क्षतिभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीका कारण जिल्ला कारागार शाखा महिला युनिटको भान्साको छाना उडाएको छ भने जिल्ला अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.