रत्ननगरमा जेष्ठ नागरिकलाई आयुर्वेदिक औषधि वितरण

चितवन : राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ति २०७७ को पूर्व सन्ध्यामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर चितवनले कृष्णमन्दिर टिकौली स्थित वृद्धआश्रममा रहेका ३० जना ज्येष्ठनागरिकलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने रसायन औषधि वितरण गरेको छ ।
कोरोना महामारीको समयमा उच्च जोखिममा रहेका वृद्ध व्यक्तिहरुलाई कोरोना जोखिमबाट बचाउन प्रभावकारी देखिएको अश्वगन्धा चुर्ण, भिटामिन सी को राम्रो स्रोत आमलकी चुर्ण, घुंडा, ढाड आदि शरीरका विभिन्न ठाउँमा दुखेको अवस्थामा मालिश गर्ने महानारायण तेल, प्रोटिन सप्लिमेन्ट र मास्क निशुल्क वितरण गरिएको थियो ।
सो अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा कोपिला अधिकारीले ज्येष्ठ नागरिकलाई कोभिड १९ का सन्दर्भमा अपनाउनु पर्ने जीवनशैलीको बारेमा जानकारी दिनुका साथै उच्च मनोबलका साथ सतर्क रहन र नियमित रुपमा आयुर्वेद चिकित्सक एवं स्वास्थ्यकर्मीको निगरानीमा आयुर्वेद स्वास्थ्य संस्थाबाट उपलब्ध हुने आयुर्वेद औषधि एवं रसायनको सेवन गर्न सुझाव दिनुभयो । कार्यक्रम संयोजक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ वैद्य हुमकुमारी ज्ञवालीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ज्येष्ठनागरिक आरोग्य कार्यक्रम अन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित रुपमा रसायन औषधि वितरण, एवं दुखाई व्यवस्थापनका लागि स्नेहन, स्वेदन थेरापी कार्यक्रम मार्फत सेवा दिने गरिएको जानकारी गराउनु भयो ।
प्रत्येक वर्ष कार्तिक त्रयोदशी, काग तिहारका दिन मनाइने धन्वन्तरी जयन्तीलाई नेपाल सरकारले राष्ट्रिय आरोग्य दिवसका रुपमा मनाउने गरेको छ | राष्ट्रिय चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको स्मरणमा यो जयन्ति मनाइन्छ | सोहि जयन्तीका उपलक्ष्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ज्येष्ठनागरिकलाई सेवा प्रदान गरेको हो |

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.