गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष : रत्ननगरको नगर सभा

१९ पुस , रत्ननगर
रत्ननगर नगरपालिकाले विहीबार दसौं नगर सभा गरेको छ । नगर सभाले एउटा ऐन,तीन वटा कार्यविधि र १७ वटा योजनाहरु शिर्षकान्तर गरेको छ । नगर सभाले वाताबरणीय तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७८,विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि,एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन कार्यविधि,गरिव घरपरिवार तथा परिचयपत्र वितरण कार्यक्रमका लागि करारमा सुपरिबेक्षण तथा गणक व्यवस्थापन कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।

शिर्षकान्तर गरिएका १७ वटा योजनामा अधिकाँस विकास निर्माण तर्फका छन् । जनप्रतिनिधिको पाँच बर्षे कार्यकालको अन्तिम नगर सभाको रुपमा रहेको सो नगर सभामा मेयर नारायण वनले नगरको विकासका लागि गरेका महत्वपूर्ण योजनाहरु नगरसभामा सार्वजनिक गरेका छन् । टाँडी बजारमा आकासे पुल निर्माण,सौराहाचोकमा बसपार्क निर्माण,पाँच वटा समुदायिक विद्यालयमा प्राविधिक शिक्षा,रत्ननगर अस्पताललाई स्तरोन्नति गरी भौतिक पूर्वाधार निर्माण,ज्येष्ट नागरिक तथा बृद्धबृद्धाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान,बृद्धबृद्धालाई घरमै स्वास्थ्य सेवा,सुत्केरी पशुलाई भत्ता,इको कल्चरल पार्क,निकुञ्ज छेउमा बसोबास गर्ने समुदायका निशुल्क बीमा गरिएको मेयर वनले बताए ।

नगरलाई खरको छानो मुक्त बनाउन जस्तापाता वितरण,विपन्नको लागि शौचालय निर्माण,विपन्न तथा सुकुमबासीलाई घर निर्माण,नगरप्रमुख उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत विना धितो,विना व्याज कर्जा लगानी गरिएको उनले बताए । सौराहामा एक हजार ५०० क्षमताको सभाहल,रत्ननगर अस्पतालमा मातृशिशु अस्पताल निर्माणाधिन अबस्थामा रहेको र वडा नं ८ मा वाटर किङडम निर्माणको लागि ठेक्का सम्झौता भइसकेको मेयर वनले बताए । सौराहामा पर्यटकीय बसपार्क निर्माणको लागि सरकारले बजेट विनियोजन गरिसकेको भन्दै स्थानीय समुदायसंग सहकार्य गरेर त्यो काम तत्काल सुरु गर्ने योजना रहेको उनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले न्यायिक समिति,राजश्व परामर्श समिति र अनुगमन समिति मार्फत भएका कामको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

स्थानीय स्तरमा न्याय सम्पादन तथा राजश्व संकलनमा समितिले अर्थपूर्ण रुपमा काम अगाडि बढाएको बताइन । नगर सभामा विधायन समितिका संयोजक तिलकराज शर्मा,आर्थिक विकास समितिका संयोनक गुप्तनाथ भट्टराई,पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठ,लेखा समितिका संयोजक लालबहादुर भट्ट,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक चित्रबहादुर भण्डारी,वन तथा वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वलराम दाहालले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर सभाले साढे ४ बर्षमा गौरबका योजना निर्माणमा सफलता हासिल गरेको निष्कर्ष निकालेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.