मनसुन अवधिभर चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिने

चितवन, जेठ २९ ।
चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्नेभएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो । उनले भने, “अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको छ ।” निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । योसँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी बन्द गरिएको उनले जानकारी दिए । वर्षातको समयमा डुङ्गा सफारी गर्दा जोखिम हुने भएकाले यसलाई बन्द गरिएको हो ।

निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आवको वैशाखसम्म रु आठ करोड १७ लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ । सो समयमा एक लाख ५९ हजार ८८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । उनीहरुमध्ये एक लाख ३६ हजार ५२२ नेपाली, १० हजार ९३४ सार्क मुलुकका र १२ हजार ४२५ अन्य मुलकका रहेको निकुञ्जले जनाएको छ । सोही अवधिमा निकुञ्जभित्र दुई करोड ४१ लाख ४० हजार पटक जङ्गलमा जिप सफारी गरिएको छ । निकुञ्जको मुख्य आम्दानी पर्यटकबाट हुने जङ्गल सफारी रहेको छ । रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.