चितवनमा घरमै सुत्केरी हुने क्रममा एक जनाको मृत्यु

चितवन । जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताउनुभयो ।

“दुई पटक गर्भ परीक्षण गर्न स्वास्थ्य संस्था जानु भएको रहेछ । तर सुत्केरी हुन स्वास्थ्य संस्था जाउँ भन्दा नमानेर घरमै सुत्केरी हुँदा उनको मृत्यु भयो”, उहाँले भन्नुभयो । घटनास्थल पुगेका स्वास्थ्यकर्मीलाई उदृत गर्दै लामाले ती महिलाको पाठेघर बाहिर निस्किएर उच्च रक्तस्रावका कारण मृत्यु भएको बताउनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा सहसंयोजक राममणि सिलवालले शालनाल जबरर्जस्ती निकाल्न खोज्दा उनको मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो “शुक्रबारदेखि सुत्केरी व्यथा लागेकी चेपाङको घरमै शिशुको जन्म भएको तर शालनाल निकाल्ने क्रममा जबरर्जस्ती गरेका कारण पाठेघर बाहिर निस्किएर मृत्यु भएको त्यहाँ पुगेका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।”

यसअघि दुई सन्तानलाई जन्म दिएकी चेपाङको यो तेस्रो बच्चा हो । शिशुको स्वास्थ्य अवस्था भने राम्रो रहेको उहाँले बताउनुभयो । विकट पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट निकै पछाडि छन् ।-रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.