४० अंकको प्रश्नपत्र सहित कक्षा १२ को परिक्षा मङ्सिर दोश्रो साता देखि हुने : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले सरकारसँग सहमति लिएर कक्षा १२ को परीक्षा छठ पछि गर्ने तयारी थालेको छ ।

विभिन्न विकल्पसहित कक्षा १२ को वार्षिक परीक्षाका लागि बोर्डले मन्त्रिपरिषद्मा प्रतिवेदन पेस गरेको थियो । सोही प्रतिवेदनलाई कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

सरकारले सहमति दिएसँगै बोर्डले परीक्षाको तयारी थालेको हो। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सरकारको सहमति पाएसँगै मंसिर दोस्रो सातामा परीक्षा लिने गरी तयारी थालिएको बताउनुभयो । परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्म दिने व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै परीक्षा हुने र कक्षा ११ को ४० प्रतिशत मूल्यांकनलाई पनि जोडिने उहाँ बताउनु हुन्छ । त्यस्तै, कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयलले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा मूल्याङ्कन गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।

बोर्डले आफ्नै विद्यालय वा घरनजिकको विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था मिलाएको छ । ४० प्रतिशत अंकको आधारमा प्रश्नपत्र तयार गरिने र उक्त प्रश्नपत्र ढुवानीमा समस्या भएको खण्डमा इमेलमार्फत् नै पठाइने अध्यक्ष पौडेल बताउनुभयो ।

बोर्डले दसैंलगत्तै प्रश्नपत्र निर्माण गर्ने, उत्तरपुस्तिका सम्बन्धित जिल्ला पठाउने, केन्द्राध्यक्षहरूलाई तालिम दिनेलगायतका काम गरेर छठलगत्तै परीक्षा सञ्चालन गर्ने बताएको छ। विद्यार्थीलाई सोहीअनुसार तयारी गर्न आग्रह गर्नु भएको छ । ‘मंसिर दोस्रो साताबाट परीक्षा हुन्छ’, अध्यक्ष पौडेल भन्नुहुन्छ, ‘त्यसका लागि एक÷दुई दिनमा हामी तालिका सार्वजनिक गर्छौँ। विद्यार्थी भाइबहिनीहरूले आफ्नो तयारी गर्दा हुन्छ ।’

कोरोना संक्रमित भएको खण्डमा पनि परीक्षा दिन पाउने उहाँको भनाइ छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र परीक्षा सञ्चालन गरिने उहाँ बताउनुहुन्छ, ‘कोही संक्रमित विद्यार्थी भएको खण्डमा त्यसका लागि पनि परीक्षा दिने व्यवस्था मिलाउँछौं ।’

गत वैशाख ८ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए।

बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ का परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँ सराइ भएको भए ७ दिनभित्र विवरण मागेको थियो । बोर्डलाई उक्त विवरणसमेत प्राप्त भइसकेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.