मकवानपुरको राक्सिराङमा मकै खलियाबाट ३ लाख बढी नक्कली नोट बरामद

चितवनः चितवन प्रहरीले मकवानपुरको राक्सिराङस्थित एक घरको मकै खलियाबाट लाखौं रुपैयाँ नक्कली नोट बरामद गरेको छ।

राक्सिराङ गाउँपालिका–८ हलिजेस्थित जितबहादुर लोप्चनले खलियामा लुकाइराखेको १ हजार रुपैयाँका ३०२ थान नक्कली नोट बरामद गरिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले जानकारी दिए।

राक्सिराङको हालिजे क्षेत्र गाँजा खेती धेरै हुने क्षेत्रमा पर्दछ। यहाँ केही घरमात्र भएपनि यस क्षेत्रमा ठूलो परिमाणमा गाँजाको खेती हुँदै आएको छ। प्रहरीको आशंका गाँजाको कारोबारमा नक्कली नोटको प्रयोग भएको भन्ने छ।

यसरी भेटियो नक्कली नोट

कात्तिक ७ गते दिउँसो चितवनको राप्ती नगरपालिका–५ भण्डारामा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार भएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो। प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा सोही वडाको चौकीडाँडाबाट १२ थान नक्कली नोटसहित लोप्चनलाई नियन्त्रणमा लिएको सेताेपाटीमा राजेश घिमिरेले लेख्नुभएकाे छ ।

ती व्यक्तिले भण्डारास्थित युनिक होटलमा खाजा खाएबापत बुझाएको १ हजार रुपैयाँ र बर्तौला किराना पसलबाट खाद्यान्न सामान किनेबापत बुझाएको ६ हजार रुपैयाँ बरामद गरेपछि प्रहरीले उनी नक्कली नोटको कारोबारी रहेको आशंका गरेको थियो।

पूर्व–पश्चिम राजमार्गबाट साढे ४ घण्टा गाडी र डेढ घण्टा पदैलयात्रा पश्चात प्रहरीटोली ती व्यक्तिको घर हलिजे पुगेको थियो।

खानतलासीका क्रममा घर भित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाइएको अवस्थामा तीन लाख २ हजार रुपैयाँ नक्कली नोटका बिटा भेटिएको डिएसपी सूर्यबाहदुर थापाले बताए।

लोप्चनलाई मुलुकी अपराध संहीता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धान प्रकृया अघि बढाइएको थापाले बताए। अनुसन्धानका क्रममा नक्कली नोटको कारोबारमा संलग्न अन्य दुई जनाको पहिचान भएको प्रहरीले जनाएको छ।

थापाले उनीहरूलाई खोजतलास भइरहेको बताए। प्रहरीले उनीहरुमार्फत नक्कली नोटको मूख्य गिरोह पत्ता लगाउने लक्ष्य लिएको एसपी गुरुङले बताए। उक्त कसुर प्रमाणित भए संलग्न व्यक्तिलाई १० वर्ष कैद र १ लाख जरिबानासम्म हुन सक्छ।

चाडपर्वको अवसरमा बजारमा नक्कली नोटको बिगबिगी हुने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ। प्रहरीकाअनुसार अहिले बजारमा भेटिएका नक्कली नोटहरु झट्ट हेर्दा सक्कली जस्तै देखिन्छन्।

‘तर छाम्दा पहिचान गर्न सकिन्छ, अहिले भेटिएका नक्कली नोटमा सेक्युरीटी थ्रेड र वाटर मार्क छैन’, जिल्ला प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी थापाले भने।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.