रोकिएको रत्ननगर महोत्सव फागुन १५ देखि हुने

चितवन ०६ फागुन

कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ। गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो। उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो।

महोत्सवमा हुने चौथो चिकेन एण्ड एग फुड फेस्टिवल फागनु १६ देखि १९ गतेसम्म सञ्चालन हुने उनले बताए। फुड फेस्टिवल सौराहा चोकमा हुने छ। महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन महोत्सव स्थगित भएको थियो। महोत्सवमा सबै संरचना त्यतिबेला नै बनाइएको थियो।
बिग्रे–भत्केका संरचनालाई मर्मतसम्भार गरी महोत्सव गर्न लागिएको हो। महोत्सवमा ३५० कक्ष रहने छन्। महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्रथामिकता दिइने भएको छ। उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ।

मूल आयोजक समितिका संयोजक एवं संघका अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने बताए। महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उनले बताए।

महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई प्राथमिकतामा राखिएको छ। ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्द्वन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ११औँ संस्करण हो। रासस

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.