रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु, मेयर सापकोटाद्धारा उद्घाटन

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकामा सरकारी जागिरका लागि लोकसेवा तयारी कक्षा सुरु गरिएको छ । सो नगरपालिकाको वडा नं १५ ले चितवनमै पहिलो पटक लोकसेवा तयारी कक्षाको तालिम सुरु गरेको हो ।

माधवपुर माविमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर प्रल्हाद सापकोटाले उद्घाटन गरेका छन् । सो अबसरमा मेयर सापकोटाले आफ्नै देशमा रोजगारीको सम्भावना देख्ने युवाहरुको कमी भएको बताए । जग्गा बेचर विदेश जाने चलन स्थापित भएको छ उनले भने क्षमता भएका युवाहरुलाई स्वदेशमै धेरै अबसरहरु छन् ।

मेयर सापकोटाले आत्मविश्वास र मिहिनेती युवाहरुका लागि स्वदेशमै पैसा कमाउन सक्ने थु्रपै सम्भावना रहेको बताए । लोकसेवाको तयारी कक्षा सुरु गर्नुपूर्व वडा कार्यालयले गरिव तथा विपन्न समुदायका युवाहरुलाई प्राथमिकतामा राखेर एक महिना अघि आवेदन माग गरेको थियो । लोकसेवा तयारी कक्षामा ५२ जनाको सहभागिता रहेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।

४५ दिन सम्म चल्ने सो कार्यक्रममा नायब शुब्बा र वागमती प्रदेशको पाँचौं तहको पहिलो र दोस्रो पेपर पढाई हुने उनले जानकारी दिए । प्लस २ पास गरेका वडा भित्रका युवाहरुलाई समेत प्राथमिकतामा राखेर कक्षामा सहभागिता गराइएको छ । शैक्षिक बेरोजगार न्यूनीकरण गरी रोजगारी सृजना गर्न लोकसेवाको तयारी कक्षा सञ्चालन गरिएको वडाध्यक्ष तामाङले बताए । प्लस २ गरेका युवाहरु स्वदेशमा रोजगारी नपाएर विदेशिने गरेको भन्दै वडाध्यक्ष तामाङले विदेश पलायन हुनबाट रोक्न र न्यून आय भएका युवाहरुलाई राज्यको प्रशासनिक निकायमा प्रवेश गराउने उद्देश्य रहेको बताए ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जनताले त्यसको राम्ररी अनुभव गर्न पाएका छैनन् वडाध्यक्ष तामाङले भने विकास निर्माणको काम प्रक्रियागत रुपमा हुने कुरा हुन, जनतालाई जनप्रतिनिधिको अनुभव गराउन नयाँ कामको सुरुवात गर्न लागेका हौं । सरकारी जागिर खान चाहने युवाहरुले किताब पढेर लोकसेवा आयोगको परीक्षा दिने प्रबृतिको अन्त्य गर्न तयारी कक्षा सञ्चालन गरिएको उनको भनाई छ ।

उद्घाटन कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले लोकसेवा तयारी कक्षा पहिलो पटक आयोजना गरिएकोले सफल हुनेमा विश्वास व्यक्त गरे । यो नौलो र महत्वपूर्ण कार्यक्रम हो उनले भने यो असफल भयो भने फेरी सञ्चालन गर्दैैनौं । कार्यक्रममा नगरपालिकका लेखा शाखा प्रमुख कृष्णप्रसाद सुवेदीले तयारी कक्षाको उद्देश्य र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राखेका थिए । वडा सचिव रुपबहादुर पण्डितले सञ्चालन गरेको कार्यक्रममा वडा नं १६ का वडाध्यक्ष हेमराज थापा,वडा नं १५ का निर्वतमान वडाध्यक्ष हुमनाथ लामिछाने,राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.