सिद्धीका चेपाङलाई मौरीसहितको घार वितरण

चितवन ०७ जेठ । मौरी जोन कार्यक्रम लागू भएको चितवनको कालिका नगरपालिका वडा नम्बर १० र ११ का युवाहरुलाई मौरीसहितको घार वितरण गरिएको छ । तीन वर्षभित्र मौरीसहितको ६ सय वटा घार वितरण गर्ने योजनासहित मंगलबार एक सय घार मौरी वितरण गरिएको हो ।
स्थानीय युवाहरुलाई उद्यमी बनाउने उद्धेश्यसहित मौरीसहितको घार वितरण गरिएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बताए । चितवनको कालिका नगरपालिकाका ९, १० र ११ नम्बर वडामा मौरी जोन कार्यक्रम लागू भएको उल्लेख गर्दै श्रेष्ठले यस क्षेत्रमा अन्य जिल्लाबाट मौरी चराउन आउने किसानले वार्षिक तीन करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको बताए । ‘सर्लाही, दाङलगायतका जिल्लाबाट मौरी लिएर आउने किसानले वर्षेनि करोडौँ रुपैयाँ लैजाने गरेका छन् तर यहाँको मान्छेलाई एक रुपैयाँ पनि आम्दानी भएको छैन’ श्रेष्ठले भने, –‘यहाँको उत्पादनबाट हुने आम्दानी यहीँका किसानको हुनुपर्छ भनेर मौरी वितरणमा सहयोग गरेका हौँ ।’
साविकको सिद्धी गाविसका चेपाङहरुलाई नै व्यवसायी बनाउने उद्धेश्यले सपना भिलेज इम्प्याक्ट सोसाइटीसँग छलफल गरी मौरीसहितको घार वितरण गरिएको श्रेष्ठले बताए । ‘हामीले प्रति किसान ३० घार मौरी बीउ पूँजीको रुपमा वितरण गरेका हौँ’ श्रेष्ठले भने, –‘यसमा थप १० घार किसानले खरिद गरेर ३० घार मौरी पाल्नेछन्, यो उनीहरुलाई सशर्त अनुदानको रुपमा दिएका हौँ ।’ किसानलाई प्रदान गरिएको २० घार मौरीमध्ये पहिलो वर्ष पाँच घार, दोस्रो वर्ष पाँच घार र तेस्रो वर्ष १० घारगरि नगरपालिकालाई २० घार मौरी फिर्ता गर्नुपर्ने श्रेष्ठले बताए ।
सो कार्यक्रममा कालिका नगरपालिकाका कृषि विकास अधिकृत शिवराम पौडेलले आज पाँच जना किसानलाई एक सय घार मौरी वितरण गरिएको उल्लेख गर्दै आगामी एक हप्ता भित्र अन्य पाँच जना किसानलाई एक सय घार मौरी वितरण गर्ने बताए । सपना भिलेज इम्प्याक्ट सोसाइटीको नौ लाख रुपैयाँ तथा कालिका नगरपालिकाको सात लाख रुपैयाँ गरी दुई सय घार मौरी वितरण गर्न लागिएको हो । तीन वर्ष भित्रमा ३० जना किसानलाई ६ सय घार मौरी वितरण गरिने पौडेलले जानकारी दिए ।
एउटा मौरीको सुपर घारमा वार्षिक ३० किलो मह उत्पादन हुने उल्लेख गर्दै पौडेलले छाउरा घरबाट मह निकाल्न नहुने बताए । किसानको लापरबाहीका कारण मौरीको क्षति भएको अवस्थामा उनीहरुबाटै क्षतिपूर्ति भराइने पौडेलले बताए । अहिले अनुदानमा मौरी पाएका किसानले मौरीसहितको घार फिर्ता गरेपछि ती घारहरु पुनः अन्य व्यक्तिलाई प्रदान गर्दै स्थानीयलाई व्यवसायिक बनाउने पौडेलको भनाइ छ । मौरीको मह प्रशोधनका लागि कालिका नगरपालिका वडा नम्बर ९ मा मह संकलन केन्द्र समेत राख्ने तयारी भएको पौडेलले जानकारी दिए ।
प्रकृतिको संरक्षण गर्दै सिद्धीको विकासमा एक कदम परियोजना सुरु भएपछि सिद्धीमा परिवर्तनको छनक देख्न सकिन्छ । मौरी सहितको घार वितरण गरेको सपना भिलेज इम्प्याक्ट सोसाइटीले स्थानीयलाई एक लाख वटा च्युरीको बिरुवा वितरण गर्ने अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । तीन वर्षे परियोजना अन्तर्गत विभिन्न फलफूल तथा घाँसका बिरुवाहरु वितरण गरेको उल्लेख गर्दै गिरीले हाल सिद्धीमा महसुस गर्ने गरी स्थानीयवासीमा परिवर्तन आएको बताए ।
पाँच वर्ष अगाडि स्वास्थ्य शिविर लिएर आउँदा त्यहाँका चेपाङको दयनीय अवस्थाका कारण आफूले त्यस स्थानमा परियोजना लिएर गएको गिरीले बताए । ‘म पाँच वर्ष अगाडि स्वास्थ्य शिविर लिएर यो ठाउँमा आएको थिएँ, स्कुलमा पुग्दा विद्यार्थीहरुको अवस्था दर्दनाक थियो’ गिरीले भने, –‘कोही परालको सिरानी बनाएर सुतेका थिए कोही पढेको जस्तो देखिन्थ्यो । यो घटनाले आफ्नो मन छोएका कारण उनीहरुको जीवनस्तर सुधार गर्ने सोच बनाएको गिरीले बताए ।
‘मैले उनीहरुलाई तिमीहरुलाई के आवश्यकता छ भनेर सोध्दा विद्यार्थीहरुले लाइट भनेका थिएँ, त्यो अझै झल्झली सम्झना आउँछ’ गिरीले भने, –‘उनीहरुमा पढाइ प्रति लगाव भएका कारण पढ्नलाई बत्ती खोजेका रैछन्, त्यो व्यवस्था गर्दै मैले यहाँ तीन करोड रुपैयाँको परियोजना लागू गरेँ ।’ परियोजनाले स्थानीयवासीलाई सहभागी बनाउँदै परियोजना सञ्चालन गरेकाले अहिले त्यस स्थानमा धेरै नै सुधारहरु भएका छन् । परियोजनाको पुँजी मात्रै नभएर स्थानीयको श्रमदान समेत करिब दुई करोड ६२ लाख ७८ हजार रुपैयाँ खर्च भएको गिरीले बताए ।
परियोजना सञ्चालनपछि सो स्थानमा धुवाँ रहित चुलो, शौचालय, आधुनिक पद्धतीको घर, फोहोर व्यवस्थापन, बाख्राको खोर सुधार, प्राथमिक उपचार बाकस राख्न उत्प्रेरणा मिलेको परियोजना अधिकृत अनिल अर्यालले जानकारी दिए । परियोजना लागू हुने समयमा चार सय ६८ परिवार रहेको सो समुदायलाई १५ वटा समूहमा विभाजन गरी ३० वटा उन्नत (बोयर, जमुनापारी, बारबेरी) जातका बोका वितरण गरेकोमा अहिले एक हजार तीन सय सात वटा उन्नत जातका बाख्रा पुगेका अर्यालको भनाइ छ । सो स्थानमा तीन सय ९७ जनाले धुवाँरहित चुलो, पाँच सय ४० जनाले शौचालय, कोठा छुट्याएर निर्माण गरिएका तीन सय ८० वटा घर (पाहुना कोठा, भान्छा कोठा, घरपरिवारका लागि छुट्टाछुट्टै कोठा), चार सय १० स्थानमा फोहोर फाल्ने खाल्डो तथा चार सय ६८ वटा सुधारिएको खोर निर्माण भएको अर्यालले जानकारी दिए ।
परियोजना लागू भएपछि सिद्धीको वडा नम्बर १० र ११ मा कागती, आँप, निबुवा, एभोगाडोलगायतका करिब तीन हजार दुई सय फलफूलका बिरुवाहरु वितरण गरिएको अर्यालको भनाइ छ । अनुदानमा मौरी पाएपछि स्थानीय चेपाङ समेत खुसी देखिन्छन् । मौरीपालनमा केही दुख भएपछि भविष्य उज्ज्वल हुने आश गरेको किरण चेपाङले बताए ।
‘छिमेकी दाइले मह काटेर बेचेको देखिरहेका छौँ’ चेपाङले भने, –‘दाइले गरेको जस्तै मिहेनत गरेर म पनि मौरी व्यवसायी बन्छु, पक्कै सफलता मिल्ला नि ।’ पहिलो चरण अन्तर्गत मंगलबार पाँच जना युवालाई मौरीसहितको एक सय घार वितरण गरिएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.