आज नवरात्रिको सातौं दिन : घर-घरमा फूलपाती भित्राइदै

चितवन : बडादशैंका नवरात्रिको सातौं दिन आज देशभर घर-घरमा फूलपाती भित्राइ मनाइदैछ ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने गरिन्छ ।

गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले जमलमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ हनुमानढोकामा भित्रयाउने चलन छ ।

घटस्थापनाका दिनदेखि नै दशै सुरु हुने भए पनि दशैको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ ।

आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई जनबोलीमा फूलपातीका रुपमा चिनिन्छ । आजकै दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने भएकाले सोही नाम जनबोलीमा रहेको हो ।

आज कालरात्रि
दुर्गा पक्षको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिएको छ । यो पक्षको नौ दिनसम्म दुर्गा देवीका नौ रुपको विशेष पूजा आराधना गर्ने शास्त्रीय परम्परा छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना हुने गर्छ ।

यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.