चितवन । गायक तथा कलाकार महेश चौधरीको प्रस्तुतीमा रहेको नयाँ गीत ‘मुना मदन २’ सार्वजनिक भएको छ। नेपाली र थारु भाषाको फ्युजनमा तयार पारिएको गीत महेश चौधरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा पुरुष पात्रको भाग नेपाली भाषामा र महिला पात्रको भाग थारु भाषामा प्रस्तुत गरिएको छ। नेपाली तथा थारु सांगीतिक स्वादलाई एकैसाथ समेटिएको गीतले फरक शैलीको सांगीतिक अनुभूति दिने प्रयास गरेको छ।
‘मुना मदन २’ मा थारु गायन क्षेत्रकी लोकप्रिय गायिका अन्नु चौधरी र महेश चौधरीको स्वर रहेको छ। गीतको शब्द, कम्पोज तथा एरेन्ज फिलिप चौधरीले गरेका छन् भने मिक्स तथा मास्टरिङ पुस्कर महतोले गरेका हुन्। गीतको रेकर्डिङ गोचा टेल्समा गरिएको हो।
गीतको भिडियोमा सुस्मा श्रेष्ठ, अनुज गुप्ता, सुकराम चौधरी, प्रमेश चौधरी र उर्मिला चौधरीको अभिनय रहेको छ। बाल कलाकारतर्फ आरभ चौधरी र रेयोना चौधरीले अभिनय गरेका छन्।
वियोगको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोको सम्पादन तथा निर्देशन किशोर चौधरीले गरेका हुन्। सिनेमेटोग्राफी विष्णु परियारको रहेको भिडियोमा कलर करेक्सन रवि चौधरीले गरेका छन्। शृंगार पिंकी चौधरीले गरेकी हुन्।
गीतको निर्माण संगीता चौधरीले गरेकी हुन् भने पोस्ट प्रोडक्सनको जिम्मेवारी डियर लभ फिल्म्सले सम्हालेको छ।
नेपाली र थारु भाषाको सांगीतिक फ्युजनसँगै वियोगको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको ‘मुना मदन २’ को अडियो तथा भिडियोले सार्वजनिक भएयता श्रोता तथा दर्शकको ध्यान आकर्षित गरिरहेको निर्माण पक्षले जनाएको छ।
गीतले दुई भाषाको सांस्कृतिक तथा सांगीतिक पक्षलाई जोड्दै नेपाली संगीतमा फरक स्वाद प्रस्तुत गर्ने प्रयास गरेको छ।