काठमाण्डौ — डार्बिनमा आउँदो अगस्ट २१ देखि ३० सम्म चल्ने टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ । प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।
नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, नेपालले दोस्रो खेलमा अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमीसँग, अगस्ट २६ मा एसीटी कोमेट्ससँग, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो । टप एन्ड टी २० शृखंला लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्युजिल्यान्ड ‘ए’विरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय अभ्यास शृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीमा अनिलकुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे रहेका छन् ।