आज मितिः २०८३ कार्तिक १ गते

रत्ननगर–१२ मा शुभकामना आदानप्रदान, वृत्तचित्र प्रसारण र बाल क्लबलाई खेलकुद सामग्री वितरण

रामु आचार्य।
रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ को आयोजनामा विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत्‌को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडाले पछिल्लो साढे चार वर्षमा गरेका विकास निर्माण तथा अन्य गतिविधि समेटिएको वृत्तचित्र प्रसारण गर्नुका साथै बाल क्लब तथा विद्यालयलाई खेलकुद सामग्री वितरण र वडाको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

हेल्प सोसाइटी, जमुनापुरमा आयोजित कार्यक्रममा रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले अध्यक्षता गर्नुभएको थियो। फरक क्षमता भएका तथा सामाजिक कार्य र शिक्षाको क्षेत्रमा सक्रिय स्थानीय बासिन्दा रुद्रप्रसाद पन्त प्रमुख अतिथि रहनुभएको कार्यक्रममा साविक वडा नम्बर ११ का संस्थापक वडाध्यक्ष तथा रत्ननगर–१२ का निवर्तमान वडाध्यक्ष वीरबहादुर पाख्रिन र साविक वडा नम्बर ९ का संस्थापक वडाध्यक्ष श्यामप्रसाद बराल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, पूर्ववडा सचिव, सामाजिक व्यक्तित्व, टोल विकास संस्थाका अध्यक्ष तथा बाल सञ्जालका अध्यक्षहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई नौमती पञ्चेबाजा समूहले आकर्षक बाजागाजा, नृत्य तथा गीतमार्फत स्वागत गरेको थियो। वडा सदस्य चन्द्रकला पनेरुले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमअन्तर्गत वडाभित्रका १४ वटा बाल क्लब, दुईवटा संस्थागत विद्यालय र दुईवटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो। बालबालिकाको खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको हो। साथै, वडाले पछिल्लो साढे चार वर्षमा सम्पादन गरेका विकास निर्माण तथा अन्य गतिविधि समेटिएको वृत्तचित्र भिडियोसमेत प्रदर्शन गरिएको थियो।

वडा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै पूर्वजनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा साविक वडा नम्बर ११ का संस्थापक वडाध्यक्ष तथा निवर्तमान वडाध्यक्ष वीरबहादुर पाख्रिन, साविक वडा नम्बर ९ का संस्थापक वडाध्यक्ष श्यामप्रसाद बराल तथा पूर्ववडा सदस्यहरू निर्मला खड्का, भुवन लामिछाने, सुकमाया विक, गोपी थापा, रामशरण नेपाल, गोकर्ण कट्टेल, अकलबहादुर श्रेष्ठ, हरिकला घिमिरे, मिना बुढाथोकी र कुलबहादुर तामाङ रहनुभएको थियो।

त्यसैगरी, साविक पञ्चकन्या गाविसका जनप्रतिनिधीहरु बलराम रेग्मी, नुरबहादुर थापा र कलाधर रेग्मीलाई पनि सम्मान गरिएको थियो। वडाको विकास तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमकै दिन सम्पन्न बाल क्लबस्तरीय ‘स्वागत मन्तव्य राख्ने प्रतियोगिता’का विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो। प्रतियोगितामा कृतिका बगाले प्रथम, आदर्श अधिकारी द्वितीय, श्रीषा लामिछाने तृतीय र बबिन सापकोटा सान्त्वना हुनुभएको थियो।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष वीरबहादुर पाख्रिन, निवर्तमान वडा सचिव शंकरबहादुर गिरी, समाजसेवी रघुनाथ भट्ट, शिक्षाविद् प्राध्यापक डा. कपिलदेव सुवेदी र शिक्षाविद् रविन्द्रजंग थापाले मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि रुद्रप्रसाद पन्तले तयार पार्नुभएको लेखसमेत कार्यक्रममा वाचन गरिएको थियो। उक्त लेखमा फरक क्षमता भएका व्यक्तिहरूप्रति वडाले सम्मानजनक व्यवहार गरेकोमा धन्यवाद व्यक्त गरिएको आशय समेटिएको थियो।

समापन मन्तव्य राख्दै वडाध्यक्ष सुन्दरमणि सुवेदीले विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्‌को शुभकामना व्यक्त गर्नुभयो। उहाँले वडाका विभिन्न गतिविधि सफल बनाउन स्थानीय बासिन्दा तथा सम्बन्धित सबै पक्षले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन रत्ननगर–१२ का सचिव सुरेन्द्र चौधरी र हेल्प सोसाइटीका सचिव विनोद अधिकारीले संयुक्त रूपमा गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.