रत्ननगर । श्री पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहको २२औँ वार्षिक साधारण सभा चितवनको रत्ननगर नगरपालिका–११ स्थित मणिखोला पार्कमा सम्पन्न भएको छ। सभाले वन संरक्षण, पर्यटन प्रवर्द्धन, फोहोर व्यवस्थापन तथा स्थानीय विकासका विषयलाई प्राथमिकतामा राखेको छ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले पञ्चकन्या सामुदायिक वन क्षेत्रमा रहेका तालहरूको संरक्षण र सदुपयोग गर्न सके रत्ननगरको समृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले पर्यटकीय सम्भावना बोकेका क्षेत्रको विकास गर्दै होमस्टेको अवधारणा अघि बढाउन सकिने धारणा राख्नुभयो। साथै, फोहोर व्यवस्थापनमा सबै एकजुट हुनुपर्नेमा जोड दिँदै भूमिहीन सुकुम्बासीको समस्या समाधानमा अधिकांश स्थानमा वन र सिंचाईको जग्गा देखिएको हुँदा समस्या समाधानमा पहल गर्न डिभिजन वन कार्यालयलाई आग्रह गर्नुभयो। विकासका विषयमा बोलेर मात्रै उपलब्धि हासिल नहुने टिप्पणी गर्दै उहाँले व्यवहारमा परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले फोहोर व्यवस्थापनमा आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृष्णसार स्थानान्तरणका लागि सक्दो पहल गर्ने, खगेरी संरक्षणका कार्यक्रम ल्याउने तथा पर्यटन र सेवा प्रवर्द्धनका लागि विविधीकृत मोडलमा काम गर्ने बताउनुभयो। साथै, युवालाई वन संरक्षणसँग जोड्न ‘युवासँग वन संवाद’ कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिनुभयो।
सभाका अवसरमा वन संरक्षण, वृक्षरोपण, सामाजिक योगदान तथा संस्थाको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरिएको थियो। पूर्वअध्यक्षहरू रामबाबु श्रेष्ठ, वीरबहादुर पाख्रिन र कृष्णप्रसाद सापकोटालाई दोसल्लासहित सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकतर्फ हेमा रेग्मी र नानीबहादुर रानामगर तथा उत्कृष्ट उपभोक्ता विद्यार्थीका रूपमा अदिति आचार्य र प्रवेश आचार्य सम्मानित हुनुभयो। उत्कृष्ट कर्मचारी सम्मानबाट वन रक्षक भीष्मबहादुर रानामगर सम्मानित हुनुभयो।
वृक्षरोपणमा योगदान पुर्याउने गामबेसी चेपाङ स्कुल, आत्माशान्ति बौद्ध स्तूप गुम्बा, निजानन्द टोल विकास संस्था, गैरीगाउँ टोल विकास संस्था, लालिगुराँस टोल विकास संस्था, पञ्चनदी टोल विकास संस्था, पृथ्वी टोल विकास संस्था, शीतल टोल विकास संस्था तथा डम्पिङ महिला उद्यमी समूहलाई सम्मान गरिएको थियो। त्यस्तै, वन संरक्षणमा योगदान पुर्याएबापत लालबहादुर गुरुङ र चेपाङ छात्रावास सुधारमा योगदान पुर्याएबापत रामबहादुर रानामगरलाई सम्मान गरिएको थियो। गामबेसी चेपाङ स्कुललाई १५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोगसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द सीङताङले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरिएका प्रमुख कार्य, आर्थिक वर्ष २०८३/८४ को भावी कार्ययोजना, नीति तथा कार्यक्रम र छलफलका लागि प्रस्तावहरू प्रस्तुत गर्नुभयो। संस्थाका लेखा सदस्य रामु पौडेलले आन्तरिक लेखा तथा आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
संस्थाकी कोषाध्यक्ष पार्वती देवी मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा क्रिस्टिना मगरले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा चतुर्मुखी सामुदायिक वनका अध्यक्ष हरिकुमार गुरुङ, पूर्वअध्यक्ष वीरबहादुर पाख्रिन तथा रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक पौडेललगायतले वन संरक्षण, पर्यटन विकास र सामुदायिक सहकार्यका विषयमा धारणा राख्नुभएको थियो।
सभाध्यक्षसमेत रहनुभएका अध्यक्ष गोविन्द सीङताङले वनको संरक्षण, विकास र उपभोक्ताको हितका लागि संस्थाले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।






