आज मितिः २०८३ मंसिर ४ गते

चित्रसारी मेलाको ‘राउण्ड बत्ती’ सञ्चालनमा प्रशासनको रोक, निर्णयबारे चासो

चितवन । थारू समुदायको संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको चित्रसारी मेलामा मनोरञ्जनको मुख्य माध्यमको रुपमा सञ्चालन हुँदै आएको राउण्ड बत्तीमा जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएपछि यस विषयले स्थानीयस्तरमा चर्चा पाएको छ। मेलामा लंगुर बुर्जा खेलाउन समेत रोक लगाईएको छ ।

यसअघि गत वर्ष मेलामा मदिराको बिक्री–वितरणमा प्रतिबन्ध लगाएको प्रशासनले यस वर्षदेखि राउण्ड बत्ती सञ्चालनमा समेत रोक लगाएको हो। वर्षौंदेखि चित्रसारी मेलामा मनोरञ्जनको प्रमुख आकर्षणका रूपमा रहँदै आएको राउण्ड बत्ती सञ्चालनमा रोक लगाइएपछि मेलाको स्वरूप र व्यवस्थापनबारे चासो बढेको छ।

चित्रसारी मेला थारू समुदायको सांस्कृतिक पहिचान, धार्मिक आस्था र सामाजिक परम्परासँग जोडिएको मेला हो। मेलामा राउण्ड बत्ती मनोरञ्जनको साधनका रूपमा प्रयोग हुँदै आएको छ। स्थानीय समुदायका लागि यो मेलाको पुरानो आकर्षण मध्येको एक मानिन्छ।

राउण्ड बत्तीलाई जुवासँग सम्बन्धित गतिविधिका रूपमा वर्गीकरण गरी रोक लगाइएको हो वा अन्य कुनै सुरक्षा तथा प्रशासनिक कारणले प्रतिबन्ध गरिएको हो भन्ने विषयमा स्पष्टता आउन बाँकी छ। यसलाई जुवाको श्रेणीमा राखिएको भए त्यसको कानुनी आधार र सम्बन्धित प्रावधानबारे प्रशासनबाट जानकारी सार्वजनिक हुनुपर्ने देखिन्छ।

सार्वजनिक मेला तथा महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउनु प्रशासनको जिम्मेवारी हो। त्यसैगरी स्थानीय संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएका गतिविधिको संरक्षण गर्नु पनि महत्वपूर्ण पक्ष हो। यी विषयलाई ध्यानमा राख्दै राउण्ड बत्ती सञ्चालनमा रोक लगाउनुको कारण र त्यसको विकल्पबारे सरोकारवालाबीच छलफल आवश्यक देखिएको छ।

चित्रसारी मेलाको व्यवस्थापन, सुरक्षा र सांस्कृतिक मौलिकतालाई कसरी सँगसँगै अघि बढाउन सकिन्छ भन्ने विषयमा जिल्ला प्रशासन, मेला आयोजक र थारू समुदायका प्रतिनिधिबीच समन्वय तथा संवाद हुन सके निर्णय कार्यान्वयन र स्थानीय समुदायको चासो सम्बोधन गर्न सहज हुने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.