आज मितिः २०८३ मंसिर ४ गते

स्थानीय निर्वाचन लक्षित गर्दै एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)ले आजदेखि काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ । निर्वाचनको तयारी, पार्टी संगठनको सुदृढीकरण तथा आगामी राजनीतिक रणनीति तय गर्ने उद्देश्यसहित आयोजना गरिएको भेलामा देशभरका नेता तथा कार्यकर्ताहरू सहभागी हुँदैछन् ।

भेलामा सहभागी हुन एमाले केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, विभिन्न जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू काठमाडौं आइपुगेका छन् ।

पार्टीका उपमहासचिव लेखराज भट्टले राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौं आइसकेको जानकारी दिनुभएको छ । उहाँका अनुसार भेलामा पार्टीका विभिन्न तहका नेतृत्व तथा जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।

भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल र शङ्कर पोखरेलले समेत भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेले देशभरको संगठनात्मक अवस्था, जनमत, स्थानीय राजनीतिक परिस्थिति र निर्वाचनमा पार्टीको सम्भावित रणनीतिबारे छलफललाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

विशेषगरी स्थानीय तहमा पार्टीको प्रभाव विस्तार, संगठनलाई थप गतिशील बनाउने, जनप्रतिनिधि र पार्टी कमिटीबीच समन्वय सुदृढ गर्ने तथा निर्वाचनमा प्रभावकारी परिणाम हासिल गर्ने विषय भेलाका महत्वपूर्ण एजेन्डा बन्न सक्नेछन् ।

देशभरका पार्टी प्रतिनिधिहरूको सहभागितामा आयोजना हुन लागेको यस भेलालाई एमालेले आगामी निर्वाचनको तयारीका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिएको छ । भेलाबाट आउने राजनीतिक सन्देश, शीर्ष नेतृत्वको सम्बोधन र संगठन परिचालनसम्बन्धी निर्णयले एमालेको आगामी निर्वाचन रणनीतिलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.