आज मितिः २०८३ भाद्र १९ गते

जन्माष्टमीको रौनक : टिकौलीको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रत्ननगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा रत्ननगर–१० टिकौलीस्थित श्रीकृष्ण प्रणामी मन्दिर वृजधाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रीकृष्ण जन्माष्टमी मनाउन चितवनसहित विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुगेर श्रीकृष्णको दर्शन तथा पूजाआजामा सहभागी भइरहेका छन्।

मन्दिर परिसरमा दिनभर नै भक्तजनहरूको चहलपहल बढेको छ। दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको संख्या साँझपख थप बढेको आयोजकले जनाएको छ। जन्माष्टमीको अवसरमा स्थानीयस्तरमा रहेका विभिन्न भजन समूहहरूले दिनभर भजन प्रस्तुति दिएका छन्।

संस्थाका धार्मिक उपाध्यक्ष जगदीशचन्द्र बरालका अनुसार जन्माष्टमीको अवसरमा मन्दिर परिसरमा विशेष पूजाआजा, भजन–कीर्तन तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन्। भक्तजनहरू भजन–कीर्तनमा सहभागी हुँदै श्रीकृष्णको आराधना गरिरहेका छन्।

भक्तजनहरूको सहजताका लागि मन्दिर परिसरमा आवश्यक स्थान फराकिलो बनाउनुका साथै उल्लेख्य संख्यामा स्वयंसेवक परिचालन गरिएको संस्थाका सचिव बालकृष्ण अम्गाईंले जानकारी दिनुभयो। स्वयंसेवकमार्फत दर्शनार्थीको व्यवस्थापन तथा मन्दिर परिसरमा आवश्यक सहजीकरण गरिएको उहाँले बताउनुभयो।

जन्माष्टमीको मुख्य आकर्षणका रूपमा आज राति १२ बजे विशेष कार्यक्रमसहित श्रीकृष्ण प्राकट्योत्सव मनाइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिलाराज सुवेदीले बताउनुभयो। भगवान् श्रीकृष्णको जन्म भएको मानिने मध्यरातमा विशेष पूजाआजा, आरती तथा धार्मिक कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो।

त्यसअघि मन्दिर परिसरमा विविध सांस्कृतिक प्रस्तुति, भजन तथा कीर्तनलगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। कार्यक्रमका क्रममा भक्तजन तथा स्थानीय कलाकारहरूको सहभागिताले मन्दिर परिसर थप उत्सवमय बनेको छ।

मन्दिरलाई भक्तजनको थप आकर्षणको केन्द्र बनाउने उद्देश्यले यस वर्ष मन्दिरको सौन्दर्य तथा सजावटमा समेत विशेष ध्यान दिइएको दीपक व्यवस्थापन संयोजक तथा श्रीकृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति टिकौलीका अध्यक्ष सूर्यणमणि ढकालले जानकारी दिनुभयो। मन्दिर परिसरलाई आकर्षक रूपमा सजाउनुका साथै भक्तजनलाई धार्मिक तथा आध्यात्मिक वातावरणको अनुभूति हुने गरी व्यवस्थापन गरिएको उहाँको भनाई छ ।

यस वर्षको कार्यक्रम सिक्किममा जन्म भई हाल वृन्दावनमा रहनुभएकी धर्म प्रचारिका तथा सुप्रसिद्ध कथावाचिका लाडली सखी दीपा जीको प्रमुख आतिथ्यतामा सञ्चालन भइरहेको आयोजकले जनाएको छ। उहाँको धार्मिक प्रवचन तथा उपस्थितिले जन्माष्टमी समारोहलाई थप विशेष बनाएको आयोजकको भनाइ छ।

श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने पर्व हो। यस अवसरमा भक्तजनहरूले व्रत बस्ने, मन्दिरमा पूजाआजा गर्ने, भजन–कीर्तन गर्ने तथा मध्यरातमा भगवान् श्रीकृष्णको प्राकट्योत्सव मनाउने परम्परा रहँदै आएको छ।

टिकौलीस्थित श्रीकृष्ण प्रणामी मन्दिर वृजधाममा हरेक वर्ष जन्माष्टमीका अवसरमा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ। यस वर्ष पनि जन्माष्टमीलाई भव्य एवं व्यवस्थित रूपमा मनाउन दिनभर विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् भने राति १२ बजे हुने श्रीकृष्ण प्राकट्योत्सव मुख्य आकर्षणका रूपमा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.