चितवन । संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत चितवनका गायक तथा संगीतकर्मी रिदम विश्वकर्माले ‘माझीदाई माछी मारिदेउ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। करिब एक दशकदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय रिदमले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप अगाडि बढाएका छन्।
गीतमा शान्तिश्री परियार र रिदम विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द बिक्रमबाबु विश्वकर्माले लेखेका हुन् भने संगीत तथा थेगो रिदम विश्वकर्माको रहेको छ। गीतको एरेन्जर शिव कन्मौजी मगर, मिक्स तथा मास्टर श्यामश्वेत रसाईली र रेकर्डिस्ट गोविन्द अनेक रहेका छन्। गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो। गीत रिदम विश्वकर्मा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गीतको भिडियोमा रिदम विश्वकर्मा र जुना विश्वकर्माले अभिनय गरेका छन्। भिडियोको कथा, कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका हुन्। सिनेमेटोग्राफी दिनेश पराजुली तथा उनको समूहले गरेको छ भने सम्पादन तथा कलर सुजन कोइरालाले गरेका छन्। भिडियोमा शृंगार सिता थापा मगरको रहेको छ।
गीतमा चलनचल्तीमा प्रयोग हुने सरल, सहज र मौलिक शब्दहरू प्रयोग गरिएको छ। श्रोता–दर्शकले सजिलै बुझ्न र आत्मसात् गर्न सक्ने शब्द तथा भावलाई प्राथमिकता दिइएकाले गीत अझै जनजीवनसँग नजिक रहेको देखिन्छ। मौलिकपन र सरल प्रस्तुतिका कारण गीतले श्रोतालाई सहजै आकर्षित गर्ने अपेक्षा गरिएको छ।
संगीत क्षेत्रमा लामो समयदेखि निरन्तर मेहनत गर्दै आएका रिदमले नयाँ पुस्ताका दर्शक तथा श्रोतामाझ आफ्नो सिर्जनालाई पुर्याउने उद्देश्यसहित ‘माझीदाई माछी मारिदेउ’ सार्वजनिक गरेको बताएका छन्। गीतले दर्शक तथा श्रोताको माया र साथ पाउने उनको अपेक्षा छ।